जनकपुरधाम । मधेश प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण गराउन सक्नु प्रदेश सरकारको मुख्य उपलब्धि ठहर गरेको छ ।
मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धी सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सफल भ्रमण गराउनु र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि भ्रमण गराउनु सरकारको उपलब्धी भएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियानमार्फत् महत्वपूर्ण काम गरिरहेको दाबी पनि गर्नुभएको छ । राउतले प्रदेश सरकारले समाजमा रहेका बिकृति, बिसंगतिहरुलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो ।
उहाँले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरुलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताउनुभयो ।
यस अबधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायतका महत्वपूर्ण कामहरु गरिएको उहाँले उल्लेख गर्नुभयो ।
४४ वटा ऐन, मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना, कोरोना रोकथाम तथा नियन्त्रण, जनस्वास्थ्य प्रयोगशाला स्थापना र नाम र राजधानीको टुंगो लगायतको उपलब्धि रहेको मुख्यमन्त्री राउतको भनाई छ।
मधेश सरकारले आठ वटै जिल्लाका विभिन्न स्थानहरुमा ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ बालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ वृद्धाश्रम भवनको मर्मत संभार तथा स्तरोन्नति, ६४ वटै निर्वाचन क्षेत्रमा ५ किमि सडक कालोपत्रे गर्नका लागि बोलपत्र सूचना प्रकाशन गरेकोलाई समेत प्रदेश सरकारको उपलब्धि पुस्तिकामा उल्लेख छ।
चार वर्षमा करिब २२५ किमि माटो सडक, ९३७ किमि ग्राभेल सडक, २२४ किमि कालोपत्रे सडक र २३७ किमि ढलान सडक निर्माण, २९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ किमि नाला निर्माण र ३ झोलुङ्गे पुल, सिंचाईतर्फ ३४ हेडबक्स निर्माण, १७४ किमि कच्ची नहर निर्माण, २९ किमि पक्की नहर निर्माण र ७८ किमि तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ किमि बस्ती संरक्षण र २६ किमि घाट निर्माण गरेको जनाएको छ। त्यस्तै, ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन, २३ वटा धर्मशाला र जनता आवास कार्यक्रम अन्तर्गत ९ हजार ४५ वटा घर बनाएको प्रदेश सरकारले जनाएको छ।