तिलक राना, हैदरावाद ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चा आकारमा सानो भएपनि राजनीतिमा वजनदार पार्टी भएको बताउनुभएको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले अन्य ठूला भनाउने पार्टी र देशी विदेशी शक्तिहरु राजमोसँग डराउने गरेको बताउनुभयो ।
‘राष्ट्रिय जनमोर्चा आकारमा सानो पार्टी भए पनि विचारमा देशका अरु पार्टी भन्दा वजनदार पार्टी हो । त्यसकारण प्रतिक्रियावादी देशी विदेशी शक्तिहरु र ठूला भनाउँदा पार्टीहरु राजमोसँग डराउने गर्छन्’ केसीले भन्नुभयो, ‘राजमोले व्यक्तिगत र पार्टीगत फाइदा नहेरी जहिले पनि सत्य र तथ्यका आधारमा राजनीति गर्छ । देश र जनतालाई केन्द्रमा राखेर आवाज बुलन्द गर्दै आएको छ ।’
अध्यक्ष केसीले कथित क्रान्तिकारी नीतिका नाममा आफूलाई अलग देखाउने खोज्नेहरुले कथित समन्वय समिति बनाए पनि फरक केही देखाउन नसकेको बताउनुभयो ।
केसीले भन्नुभयो, ‘उही मसालले पारित गरेको लाइनलाई नै पत्रकार सम्मेलन गरि देखाएका छन् । राजनीतिमा यो भन्दा मजाक के हुन सक्ला ?’
नेता केसीले देशको अहिलेको समसामयिक राजनीतिक अवस्थाको बारेमा समेत प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा उहाँले पहिला केपी ओली र अहिले शेरबहादुर देउवाले एमसीसी पास गराउन लागि परेको बताउँदै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता भन्दा ठूलो सत्तालाई मान्ने प्रवृतिका कारण देश अन्यन्त अप्ठ्यारो स्थितिमा पुगेको बताउनुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल तथा महासचिव ठाकुर खनालले प्रचारात्मक अभियानबारे जानकारी गराउनुभएको थियो ।
उहाँहरुले मूल प्रवाहको विरुद्धमा कतिपय कारवाहीमा परेका तत्वहरुले मूल प्रवाहको लोगो प्रयोग गरि समानान्तर समिति गठन गरि सिधा सादा जनतालाई भ्रम पार्ने काम गरिरहेको हुँदा गलत तत्वहरुका विरुद्ध जोरदार रूपमा भण्डाफोर गर्दै आठौं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न पार्न सम्पुर्ण कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य फुलबिना पौडेल, केन्द्रीय वैकल्पिक सदस्य भिमबहादुर थापा र केन्द्रीय प्रतिनिधि रतन सिंहको पनि आतिथ्यता रहेको थियो ।
राम प्रसाद पौडेलको अध्यक्षता तथा तिलक रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कृष्णबहादुर थापाले स्वागत गर्नु भएको थियो ।
मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन यही फागुन १५ देखि १७ गतेसम्म नयाँ दिल्लीमा हुँदैछ । सो सम्मेलनको तयारीका क्रममा मूल प्रवाहले भारतव्यापी प्रचारात्मक अभियान सञ्चालन गरिरहेको छ ।