धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त बनाउन काम भइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबिच अनुभव आदानप्रदान गर्न २०७८ माघ २७ गते काभ्रेको सदरमुकाम धुलिखेलमामा आयोजित कार्यक्रममा उहाँले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम–कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गर्नुभयो ।
‘संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ’ सभामुख सापकोटाले भन्नुभयो ।
‘संसद्का बारे धेरै प्रश्न उठेको छ । मेरो पहलकदमी कहाँ पुगेको छैन ? कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु’ उहाँले अगाडि भन्नुभयो– ‘सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ । आलोचना र आएका सुझावलाई सकारात्मक रूपमा लिएको छु ।’
अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पु¥याउने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वाेपरी हुन् । देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्ने छन् । तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठुलो तागत छ ।’
देशले एकपछि अर्काे गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोचविचारले मात्रै राम्रो नतिजा हासिल गर्ने भएकाले संसद्ले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘विश्व समुदाय जस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ । मातृभूमिप्रति इमान्दार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुने छ ।’
लोकतन्त्र प्रवचन दिने विषय नभई आत्मसात र व्यवहारमा लागु गर्ने विषय भएको जनाउँदै उहाँले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए तापनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गर्नुभयो ।
कार्र्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेल, मधेस प्रदेशका उपसभामुख उपमाकुमारी देव, बागमती प्रदेशका उपसभामुख राधिका तामाङ, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा, कर्णाली प्रदेशका पुष्पा घर्ती र सुदूर पश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले पनि मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, सो कार्यक्रममा सङ्घीय संसद् सचिवालका सचिव सुदर्शन खड्का, संविधान सभा सदस्य एवम् वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले पनि मन्तव्य राख्नुभएको थियो । – नारायण न्यौपाने (रासस)