बाग्लुङ । उपनिर्वाचन भएको बाग्लुङ प्रदेशसभा २ (ख) को मतगणना आइतबार बिहान ८ बजेदेखि हुने भएको छ । मतगणनास्थल बाग्लुङ सदरमुकाममा मत पेटिका पुर्याउन समय लाग्ने भएकोले मतगणना भोलि बिहान मात्रै हुने भएको हो ।
बाग्लुङ २(ख) अन्तर्गत पर्ने तीनवटा पालिकाहरु ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका सदरमुकामबाट निकै टाढा भएकोले राति अबेर मात्रै मतपेटिका सदरमुकाम पुग्नेछ ।
सो निर्वाचन क्षेत्रमा तीनवटै पालिकाका २२ वटा वडामा रहेका २४ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । ३५ हजार एक सय ८१ मतदाता रहेको बाग्लुङ २(ख) मा २१ हजार ५ सय १२ मत खसेको छ ।
४३ वटा मतपेटिका संकलन गरी सदरमुकाम लग्दै गरिएको राजमो नेता तिलक थापाले जानकारी दिनुभयो । मतगणना जिल्ला समन्वय समितिको भवनमा बिहान ८ देखि मतगणना सुरु हुनेछ ।
बाग्लुङ २ (ख) मा वाम गठबन्धनका तर्फबाट राजमोका खिमविक्रम शाही र नेपाली कांग्रेसबाट जीतबहादुर शेरचनलगायत ११ जना प्रतिष्पर्धामा छन् ।