काठमाडौँ । राष्ट्रिय जनमोर्चा तनहुँका उपाध्यक्ष महेन्द्र सापकोटाले आफू अहिले पनि राजमो तनहुँको उपाध्यक्ष नै रहेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘मलाई राजमो तनहुँको कुनै पनि बैठकले जिल्ला उपाध्यक्षबाट हटाएको छैन ।’
जिल्ला उपाध्यक्ष सापकोटाले फुटपरस्तहरूले आफूलाई तनहुँबाट लमजुङ जिम्मा परिवर्तन गरेको समाचारको ठाडै खण्डन गर्नुभयो ।
‘मलाई राजमोको गण्डकी प्रदेश समितिले लमजुङको पनि जिम्मेवारी दिइएको जानकारी दिएको थियो’ उहाँले भन्नुभयो– ‘तर मलाई तनहुँको उपाध्यक्षबाट हटाएर लमजुङको जिम्मा दिइएको होइन, बरु थप जिम्मेवारी दिइएको हो ।’
युगदर्शनसितको कुराकानीमा उहाँले आफूले शारीरिक अवस्थताका कारण सङ्गठनले अपेक्षा गरेअनुसार काम गर्न नसके पनि तनहुँ र लमजुङ दुवै जिल्लामा यथासक्य काम गर्नुहोला भनेर राजमो क्षेत्रीय समितिले जिम्मा दिइएको बताउनुभयो ।
‘लमजुङमा राजमोको सम्पर्क कायम गरी सङ्गठन विस्तार गर्न मलाई जिम्मा दिइएको रहेछ’ सापकोटाको भनाइ थियो– ‘मेरो सङ्गठनात्मक निरन्तरताको आधारमा मलाई थप जिम्मा दिइएको मैले बुझेको छु ।’
यता, राजमो गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले पनि सापकोटालाई तनहुँको उपाध्यक्षबाट नहटाइएको पुष्टि गर्नुभयो ।
‘हामीले क्षेत्रीय समितिमा सल्लाह गरेरै महेन्द्रजीलाई तनहुँका साथै लमजुङको पनि जिम्मा दिएका थियौँ’ प्रदेश अध्यक्ष बरालले भन्नुभयो ।
‘उदाहरणका लागि राजमोको काठमाडौँ जिल्ला समितिमा रहेको कुनै साथीलाई त्यहाँको क्षेत्रीय समितिले बागमती प्रदेशभित्रको अन्य जिल्लामा जिम्मा दिन सक्छ’ बरालले अगाडि भन्नुभयो– ‘तर त्यो कारणले ऊ काठमाडौँ जिल्लाबाट राजमोको जिम्मेवारीबाट हट्दैन ।’
अध्यक्ष बरालले सापकोटालाई लमजुङको जिम्मा थपिँदाखेरि तत्कालीन राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठसित क्षेत्रीय सदस्य भएको नाताले सल्लाह भएको दाबी गर्नुभयो ।
‘त्यतिखेर पुष्पलाल श्रेष्ठ राजमो तनहुँका साथै राजमो गण्डकी प्रदेश समितिको पनि सदस्य हुनुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘उहाँसित समेत सल्लाह गरेर सापकोटालाई तनहुँका साथै लमजुङको पनि जिम्मा दिइएको थियो ।’
बरालले थप्नुभयो– ‘तर अहिले पुष्पलाल महेन्द्र सापकोटालाई शङ्कर बरालले मात्रै लमजुङको जिम्मा दिएको भनेर उम्किन खोज्दै हुनुहुन्छ ।’
अर्कोतर्फ, फुटपरस्त तत्त्वहरूले तनहुँमा भ्रम पारेको प्रेसवक्तव्य जारी गर्न सहमति प्राप्त गरेको जानकारी प्राप्त भएको छ ।
श्रोतका अनुसार पुष्पलाल श्रेष्ठले राजमोमा फुट पार्न होइन, केन्द्रलाई दबाब दिनका लागि भन्दै जिल्ला समितिका सदस्यहरूलाई कन्भिन्स गरेका थिए ।
एक जना राजमोको जिल्ला सदस्यले युगदर्शनसित भने– ‘केन्द्रलाई कतिपय गलत नीति सच्याउन दबाब दिनका लागि हामीले पुष्पलालजीलाई सहमति दिएका थियौँ, तर उहाँले त अनुशासनविहीन तथा फुटपरस्त पक्षलाई समर्थन गरिहाले ।’
‘राष्ट्रिय जनमोर्चामा फुट पार्न वा राष्ट्रिय जनमोर्चाबाट अलग हुने हाम्रो मनसाय होइन’ उहाँले भन्नुभयो ।