काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।
आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।
‘अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए तापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
गत मंसिरमा काठमाडौंमा भएको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई दिनुभएको थियो । उहाँले त्यसको छानबिनका लागि मंसिर २७ र माघ १६ गते दुई पटकसम्म निवेदन दिएपनि त्यसको सुनुवाई भएको छैन ।
अध्यक्ष लिङ्देनले त्यसबारेमा छानबिन हुन नसक्ने अडान लिएका कारण थापाले पार्टी पत्यिाग गरेको बुझिएको छ । अब थापाले राजतन्त्र छोडेर हिन्दुवादी पार्टी निर्माण गर्ने तयारी गरेको निकटस्थहरुले बताएका छन् ।