दाङ । नेकपा (मसाल) सहित आठ राजनीतिक दल तथा संगठनले एमसीसीविरुद्ध माघ २६ गते देशब्यापी रुपमा आयोजना गरेको कार्यक्रम अन्तर्गत दाङको घोराहीमा विरोध प्रदर्शन हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी , नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माले) लगायतका दलहरुको आयोजनामा यही विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको हो ।
माघ २४ गते बसेको दलहरुको संयुक्त बैठकले उक्त कार्यक्रम तय गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य सितल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडे, नेकपा मालेका जिल्ला सचिव नेत्र प्रकाश पान्डे लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।
माघ २६ गते दिउँसो १२ः३० बजे घोराहीको ट्राफिक चोकमा जुटेर बजार परिक्रमा गरि तुलसीपुर चोकमा सभाको कार्यक्रम तय भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भएको छ । बैठकले राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध हुने उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि देशभक्त नागरिकलाई अनुरोध गरेको छ ।