काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि यतिबेला राष्ट्रिय राजनीति तरंगित बनेको छ । सहसचिव तहको कर्मचारीले लेख्नुपर्ने पत्र प्रधानमन्त्री तहबाट लेख्दा देशको कूटनीतिक मर्यादा धुलिसात बनेको भन्दै चौतर्फ आलोचना भएको छ ।
अझ, रहश्यमय कुरा त एकातिर एमसीसी बोर्डलाई पत्र नै लेखेर प्रचण्डले एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता गरेर जनतासँग पत्र नपठाएको भनेर झुठो कुरा गरिरहेको पुष्टि भएको छ । यसले प्रचण्डको विगतदेखिकै दोहोरो चरित्र फेरि उदाङ्गो भएको छ ।
एमसीसी राष्ट्रघाती भएका कारण यसलाई खारेज गर्नुपर्छ भनेर जनस्तरबाट चर्को विरोध भइरहेका बेला शासकहरुले गरेको यो दुस्साहसले देशको अस्तित्वलाई नै गिज्याइरहेको विभिन्न क्षेत्रका व्यक्तिहरुले टिप्पणी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले प्रचण्ड र देउवाले जनतासमक्ष माफी माग्नुपर्ने बताउनुभएको छ ।
‘प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कूटनीतिक मर्यादा विपरित छ । कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ’ थापाले ट्विट गर्दै लेख्नुभएको छ, ‘सो पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक छ । उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ ।’
यस्तै, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री र भूतपूर्व प्रधानमन्त्रीले सहसचिवस्तरमा झरेर पत्र लेखेको भन्दै यसले देश गम्भीर संकटमा पुगेको बताउनुभएको छ ।
मिश्र लेख्नुहुन्छ, ‘जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’ को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्, बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन् र तिनकै पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’
पूर्वसचिव रामेश्वर खनालले प्रचण्ड र देउवाको हर्कतले देशको विश्वसनियता धुलिसात भएको बताउनुभएको छ ।
उहाँको भनाई छ, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा बैठकमा प्रत्यक्ष बोलिएको विषय र हस्ताक्षर नै नगरिएको संचार (नोट भर्बल) लाई त भरोसायोग्य मानिन्छ । दस्तखत गरेको पत्रलाई समेत अनेक थरी व्याख्या गरेर रमाउन त सकिएला । तर मुलुकको विश्वसनियता धुलीसात हुन्छ ।’