काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने प्रतिवद्धतासहित एमसीसी मुख्यालयलाई पत्र पठाएको खुलासा भएको छ । २९ सेम्टेम्बर, २०२१ मा पठाइएको पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता उल्लेख गरिएको छ ।
एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र प्रचण्डले पत्र पठाएको खुलाएको हो । यही आधारमा एमसीसीले २८ फेब्रुअरीलाई समयसीमा दिएर टुंगो दिन भनेको छ ।
यसअघि देउवाले बेलायत भ्रमणबाट फर्किएर प्रचण्डसहित आफूले पत्र पठाएको खुलासा गर्नुभएको थियो तर, प्रचण्डले भने एमसीसी पारित गर्नेबारे उल्लेख नगरेको बताउँदै आउनुभएको थियो ।
प्रतिवद्धताअनुसार पारित गर्न एमसीसीको ताकेता
यता, अमेरिकाले प्रतिवद्धता अनुसार एमसीसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ । अमेरिकाले आफ्नो प्रतिवद्धता अनुसार फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो ।
अमेरिकी सरकारको सहायता परियोजना एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृतले ३ फेब्रुअरीमा नेपाललाई पत्र लेख्दै एमसीसी सम्झौता कार्यान्वयनका लागि अमेरिकाले लामो समय कुर्न नसक्ने प्रष्ट पारेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र पठाउँदै एमसीसी कार्यान्वयनका विषयमा छिटो टुंगोमा पुग्न भनेका छन् ।
सञ्चारमाध्यमले सार्वजनिक गरेको एमसीसीले पठाएको सो पत्र भने सरकारले गुपचुप राख्न खोजेको छ ।
‘तपाईंहरू (देउवा र प्रचण्ड) ले तोकेको समय अनुसार २८ फेब्रुअरी २०२२ भन्दा ढिलो नहुने गरी एमसीसी संसदबाट अनुमोदन गर्न सांसद र सत्ता गठबन्धनका नेताहरूसँग काम थाल्न आग्रह गर्दछौं’, पत्रमा भनिएको छ ।
विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका दुई पत्र
१) देउवा र प्रचण्डले अमेरिकालाई पठाएको पत्र

२) अमेरिकाले देउवा र प्रचण्डलाई पठाएको पत्र
