कपिलवस्तु । शिवराज नगरपालिका –३ खरेन्द्रपुरमा तरकारी संकलन केन्द्र, ट्रस्टको शिल्यानास गरिएको छ ।
खरेन्द्रस्पुरमा अवस्थित श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडले तरकारी संकलन केन्द्र स्थापना गर्न लागेको हो ।
संस्थाले स्थानीय कनैयालाल मुराउको एक कठ्ठा, आठ धुर जग्गा १० वर्षका लागि लिजमा लिएर तरकारी संकलन केन्द्र सञ्चालन गर्न लागेको छ ।
शिवराज नगरपालिका कृषि विकास शाखाबाट ६ लाख रुपैयाँ र श्रमदानबाट ६५ हजार गरी ६ लाख ६५ हजारको लागतमा तरकारी संकलन केन्द्र निमार्ण हुन लागेको हो ।
शिवराज नगरपालिका–३ का वडा अध्यक्ष टेकलाल सापकोटा एक कार्यक्रमबीच सो केन्द्रको शिलन्यास गर्नु भएको छ । कार्यक्रममा कृषि सहकारी संस्था लिमिटेड खरेन्द्रपुरका अध्यक्ष केरसिंह अदै, कृषि विकास शाखा अधिकृत तारा चन्द चौधरी, प्राविधिक शिव पराजुली, स्थानीय समाज सेवी, उपभोक्ता समिति, स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो ।
सो क्षेत्रमा तरकारी संकलन केन्द्र सञ्चालन हुन लागेको हुँदा तरकारी उत्पादन गर्ने किसानहरू उत्साहित भएका छन् ।