दाङ । दाङको बंगलाचुलीमा ८ जना युवा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राजमोले देश र जनताको पक्षमा लिएको अडान र विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको ती युवाले बताएका छन् ।
राजमो बंगलाचुलीले आयोजना गरेको एमसीसीविरुद्धको सभामा मदन घर्तीको नेतृत्वमा अर्जुन नेपाली, गिरिराज खड्का, डम्बर खत्री, चिरन विष्ट, सुरज नेपाली, यज्ञ खड्का र बसन्त नेपाली राजमोमा प्रवेश गर्नुभएको हो । वर्तमान अवस्थामा देश र जनताको हितमा काम गर्ने भनेको राष्ट्रिय जनमोर्चा मात्र भएकोले आफूहरु राजमोमा आवद्ध भएको उहाँहरुले बताउनुभयो ।
नवप्रवेशी युवाहरुलाई राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले स्वागत गर्नुभयो । बुधबार राष्ट्रिय जनमोर्चा, बंगलाचुलीले एमसीसी खारेजीको माग गर्दै र्यालीसहित विरोध सभा गरेको हो । सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष आचार्यले एमसीसी सम्झौता कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने जिकिर गर्नु भयो ।
त्यस्तै, राजमो बंगलाचुली गाउँपालिकाका अध्यक्ष सुमन घर्ती, उपाध्यक्ष भीमबहादुर अधिकारी, राजमो जिल्ला सदस्य तिलकराम घर्ती, अखिल नेपाल युवक संघका घोराहीनगर उपाध्यक्ष संजय वलीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य लक्ष्मण विकले गर्नु भएको थियो ।