काठमाडौं । काठमाडौं विश्वविद्यालय मातहतका मेडिकल कलेजमा विद्यार्थीबाट उठाइएको अतिरिक्त शुल्क फिर्ता लिन सहमत भएको छ । मंगलबार काठमाडौं विश्वविद्यालय र आन्दोलनरत विद्यार्थी संगठनहरुबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको हो ।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका थिए । सहमति अनुसार अब ती दुई कलेजले लिएको अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता हुने छ ।
आन्दोलनरत विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गरी सो सहमति इमान्दारीपूर्वक कार्यान्वयनको माग गरेका छन् । साथै, विद्यार्थी संगठनहरुले आन्दोलनका क्रममा गिरफ्तार विद्यार्थी नेताहरुको तत्काल रिहाइको माग गरेका छन्।
‘आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालय प्रशासनवीच पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित विद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन–पाठन लगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निःशर्त कक्षामा सामेल गराउने निर्णय भएको सन्दर्भमा संयुक्त विद्यार्थी संगठनकोतर्फबाट घोषणा गरिएका आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी) का हरिकृष्ण गजुरेल, नेत्रविक्रम चन्द विप्लवनिकट विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा जारी विज्ञप्तिमा भएका निर्णय र सहमति कार्यन्वयन नभएको अवस्थामा पुनः सशक्त आन्दोलन अगाडि बढाउने चेतावनी दिइएको छ ।


