काठमाडौं । राष्ट्रिय जनमोर्चाले दार्चुला जिल्लाको सदरमुकाम खलंगा पारी महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले तटबन्ध निर्माण कार्य अगाडि बढाएको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।
नेपालसँग सहमति नलिई भारतले एकलौटी ढंगबाट जारी राखेको तटबन्ध निर्माण कार्यको राजमोले विरोध र भर्त्सना गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी भारतले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिइ एकलौटी ढंगबाट संरचना निर्माण कार्य अगाडि बढाएर अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको बताउनुभएको छ ।
साथै भारतले सुरु गरेको तटबन्ध निर्माण कार्यलाई तत्काल रोक्न नेपाल सरकारसँग माग गरिएको छ ।
यस्तो छ वक्तव्य :
‘दार्चुला जिल्लाको सदरमुकाम खलङ्गापारी महाकाली नदीको प्राकृतिक बहाव रोक्ने उद्देश्यले भारतीय पक्षले तटबन्ध निर्माण कार्य अगाडि बढाइरहेको कार्यप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भिर ध्यान आकर्षण भएको छ । नेपालसँग सहमति नलिई भारतले एकलौटी ढंगबाट जारी राखेको तटबन्ध निर्माण कार्यको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।
अन्तर्राष्ट्रिय सीमाक्षेत्र नदीमा भारतले तटबन्धको निर्माण कार्य शुरु गर्नुभन्दा अगाडि निर्माणसँग जोडिएका सम्पूर्ण विवरण नेपाल सरकारलाई बुझाउनुपर्ने वा जानकारी दिनुपर्ने हुन्छ । सो विवरणको आधारमा भारतले निर्माण गर्न थालेको संरचनाले नेपाललाई के कस्तो असर पर्ने वा नपर्ने हो? त्यस्को निक्र्योल भएपछि मात्र नेपालले दिने सहमतिका आधारमा मात्र भारतले त्यो निर्माण कार्य अगाडि बढाउन सक्दछ ।
अन्तर्राष्ट्रिय नियमअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्र महाकाली नदीमा नेपाल तथा भारतले आफ्नो भू–भाग भित्र कुनै भौतिक संरचना निर्माण गर्नु परेमा एकअर्काको मुलुकको सहमति लिनुपर्ने हुन्छ । भारतले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा नेपालको सहमति नलिइ एकलौटी ढंगबाट संरचना निर्माण कार्य अगाडि बढाएर अन्तर्राष्ट्रिय नियम, कानून तथा प्रचलनको अतिक्रमण गरेको छ । भारतको उक्त हेपाहा प्रवृत्तिको हाम्रो दल राष्ट्रिय जनमोर्चाले कडा विरोध गर्दछ । भारतले सुरु गरेको तटबन्ध निर्माण कार्यलाई तत्काल रोक्न नेपाल सरकारसँग माग गर्दछौँ ।
भारतले दशकौँदेखि दार्चुलाको कालापानीमा भारतीय सेना तैनाथ गरेको छ । भारतबाट तिब्बतको मानसरोवर जाने सडक निर्माण गर्ने क्रममा लिपुलेकस्थित नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण र विस्तार गरिरहेको छ । दार्चुलाको मालघाट पारी तुइन तरिरहेका बेला भारतीय पक्षबाट नेपाली युवा जयसिंह धामीको हत्या गरिएको थियो । दार्चुलास्थित नेपाली आकाशमा भारतले अनधिकृत तवरबाट हेलिकोप्टर उडाउने काम गरेको थियो । अहिले आएर नेपालको सहमतिविना तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाएको छ ।
यसरी सिलसिलेवार रुपमा भारतले नेपालको सार्वभौमसत्ता तथा अखण्डतामाथि ठाडो हस्तक्षेप गर्दै आएको छ । तर नेपाल सरकारले यी बिषयहरुमा दृढतापूर्वक भारतसँग कुराकानी राख्न नसकेकोप्रति पनि हाम्रो दलले सरकारको आत्मसमर्पणवादी नीतिको कडा विरोध गर्दछ ।
भारतले एकलौटी ढंगबाट शुरु गरेको तटबन्ध निर्माण कार्यले नेपाल तर्फ वर्षायाममा हुनसक्ने सम्भावित क्षतिलाई ध्यानमा राखेर सरकारले भारतीय पक्षसँग दृढतापूर्वक प्रस्तुत हुन तथा अविलम्ब तटबन्ध निर्माण कार्य रोक्न पहल गर्नु पर्दछ ।’
मितिः २०७८ माघ ११
चित्रबहादुर के.सी.
अध्यक्ष