जगदीश ढकाल,नेपालगञ्ज ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चुनाव प्रचारको शिलशिलामा बाँके पुगेका छन् ।
बिहीबार नेपालगन्जमा आयोजित प्रचारात्मक सभामा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार तुलप्रसाद विश्वकर्मा (राजेश),नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रलक्ष्मी गैरे र नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले जिल्लास्थित स्थानीय जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम गर्नुभएको छ ।
त्यसक्रममा उम्मेदवारहरुले आफूहरुलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुका साथै देश, जनता र राष्ट्रियताको लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पीवीएम दलबहादुर सुनार, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक तथा प्रदेश सांसद आइपी खरेल, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको अध्यक्षतामा तथा अखिल नेपाल युवक संघका कार्यवाहक अध्यक्ष कृष्णराज पान्डेको सञ्चालनमा सम्पन्न कार्यक्रम राजमो केन्द्रीय सल्लाहकार मोमिना खातुन, एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, राजमो नेता सुरेश थापा लगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारहरुले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा परिचयात्मक कार्यक्रम गरी भोट मागिसकेका छन् । उम्मेदवारहरुले आजै बर्दियामा आफ्नो कार्यक्रम सञ्चालन गरेका थिए । यसअघि रुपन्देही, पाल्पा, गुल्मी, प्युठानलगायतका जिल्लामा सो टोली पुगेको थियो ।