काठमाडौं । वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य इजरायलमा नेपाली श्रमिक जान थालेका छन् । नेपाल सरकारले त्यहाँको सरकारसँग सम्झौता गरी जीटूजी माध्यमबाट श्रमिक पठाउन थालेको हो ।
त्यसक्रममा बुधबार साँझ ९९ श्रमिकलाई विदाई गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गर्नुभयो । विमानस्थलमा नेपालका लागि इजरायलका राजदूत हनान गोदर उपस्थित हुनुहुन्थ्यो ।
६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्।
यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।
छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो।
इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्।