काठमाडौं । पाँच दलीय गठबन्धनबीच समयमै स्थानीय तहको निर्वाचन गर्न सहमति भएको छ । मंगलबार बसेको गठबन्धनको बैठकमा तोकिएको समयमै निर्वाचन गर्न सहमति भएको हो ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले तोकिएको समयमै निर्वाचन गर्ने विषयमा दलहरुबीच छलफल भएको जानकारी दिनुभयो । संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव विभिन्न दलका नेताबाट आएको पौडेलले बताउनुभयो ।
त्यसका साथै राष्ट्रिय सभाको निर्वाचनको तयारी र कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
‘बैठकमा राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनबारे छलफल भयो । स्थानीय तहको निर्वाचन तोकिएको समयभित्रै गर्न गठबन्धनका दलहरुबीच सहमति भएको छ। त्यससम्बन्धी ठोस निर्णय अर्को बैठकमा हुने छ’ पौडेलले भन्नुभयो, ‘त्यसका साथै माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको तयारीबारे पनि छलफल भयो ।’
केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो । संविधानमा स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने उल्लेख छ । त्यसका लागि आगामी जेठ ५ अगावै स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष पौडेलसहित सत्तारूढ गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।
पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । अरु थप विषयमा छलफल र निर्णयको लागि माघ ६ गते फेरि गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ।