खलङ्गा । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको पाइएको छ । चालु आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएसँगै यस्तो देखिएको हो ।
जिल्लाका सात गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताउनुभयो ।
‘गाउँपालिकाभन्दा नगरपालिकाका महिलाका नाममा बढी जग्गा रजिस्ट्रेसन भएको छ’ कार्यालय प्रमुख रोकायाले भन्नुभयो ।
नगरपालिकाको महिलाका नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाका महिलाका नाममा जग्गा रजिस्ट्रेसन भए राजस्वमा ५० प्रतिशत छुट रहेको कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन गर्ने दलित समुदाय र अपाङ्गता भएकलाई राजस्वमा २५ प्रतिशत छुट दिने व्यवस्था पनि रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्ट्रेसन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।