काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अब मुद्दा नचल्ने भएको छ । भोलि (पुस २७) गतेसम्म मुद्दा चलाउनुपर्ने म्याद रहेकोमा सरकारी वकिल कार्यालय काठमाडौंले आज (सोमबार) फाइल नै फर्काइदिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई मुद्दाको फाइल फिर्ता गरिदिएको हो । अब हद म्यादका कारण सो प्रकरणमा मुद्दा दर्ता हुने सम्भावना करिब सकिएको छ ।
ठूलाबडालाई जोगाउन खोज्दा ललिता निवासको सरकारी जग्गा प्रकरणको मुद्दामा म्याद गुजार्ने खेल भएको देखिन्छ । सीआईबीले दुई वर्ष लगाएर अनुसन्धान प्रतिवेदन बुझाए पनि सरकारी वकिल कार्यालयले अनुसन्धान नपुगेको भन्दै हदम्याद सकिन लाग्दा फाइल नै फिर्ता पठाइदिएको हो ।
यद्यपी जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार भने मुलुकी ऐनको कसुर अनुसार मुद्दा चलाउने भएकाले हदम्याद सकिँदैन ।
ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ३६२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सरकारी जग्गा हडप गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको थियो ।
प्रमाण नपुगेको र अनुसन्धानमा कमजोरी रहेकाले फाइल फिर्ता गर्नु परेको सरकारी वकिल कार्यालयले जनाएको छ । सीआईबीले बुझाएको ५ दिनपछि सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन फिर्ता गरिदिएको हो।
तीन सय ६२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको सीआईबीले २ जनालाई मात्रै पक्राउ गरेको थियो। जग्गा हिनामिना गर्दाका लेखनदास रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरिएको हो ।
बालुवाटार जग्गा प्रकरणको मुद्दामा सीआईबी र सरकारी वकिल कार्यालयको मिलेमतो देखिएको छ । महान्यायाधीवक्ता खम्मबहादुर खातीले नै अख्तियारले दायर गरेको मुद्दामा प्रतिवादीको पक्षबाट बहस गरेका थिए ।