काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्न सम्बन्धित मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यही सिफारिसलाई कार्यान्वयनमा लैजाने क्रममा शिक्षा मन्त्रालयले तत्काललाई जाडो बिदाका रुपमा माघ १५ सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको हो।
शिक्षाको यो निर्णयपछि हिउँदे बिदामा दिइसकेका विद्यालय माघ १५ सम्म बन्द हुनेछन् । परीक्षा जारी रहेका कलेज र विद्यालयललाई स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सकेपछि बिदा दिन निर्देशन दिने निर्णय मन्त्रालयले गरेको हो ।
विद्यालय बन्दको अवधिमा पनि बालबालिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहलाई खोप दिइने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
