काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय नभएको बताएको छ । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको हो ।
Advertisement
विद्यालय बन्द गर्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको शिक्षामन्त्री देवेन्द्र पौडेलको सचिवालयले जनाएको छ । सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो ।
सीसीएमसीले कोरोना संक्रमण नियन्त्रणको लागि विद्यालय बन्दसँगै सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउने लगायत व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।