काठमाडौं । काठमाडौंको नयाँबजारमा रहेको धनकुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको सदस्य कल्याण कोषमा एक वर्षमा ७ लाख ५९ हजार ६४१ रुपैयाँ ३५ पैसा जम्मा भएको छ । शनिबार सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।
संस्थाले प्रत्येक सदस्यबाट दैनिक एक रुपैयाँका दरले सो कोषमा रकम जम्मा गर्ने गर्दछ । गत वर्ष १० औँ वार्षिक साधारण सभाबाट निर्णय गरी ‘सदस्य कल्याण कोष’ को अवधारणा ल्याइएको हो ।
सो कोषमा जम्मा हुने रकमबाट संस्थाका सदस्य लामो समयसम्म बिरामी भइ अस्पताल भर्ना भएमा उपचारका लागि केही सहयोग गरिन्छ भने मृत्यु भएमा आश्रित परिवारलाई संस्थाले सहयोग गर्नेछ ।

संस्थाका अध्यक्ष उद्धवहरी भट्टराईको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाका क्रममा भट्टराईले तीन करोड ४२ लाख २२ हजार ३८४ रुपैयाँ ८५ पैसाको वार्षिक आयव्यव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ता पदम रोका, राष्ट्रिय जनमोर्चाका नेता तथा संस्थाका सल्लाहकार आनन्दराज शर्मा, डा. कौशिला रिसाल, राजेन्द्रबाबु श्रेष्ठ, तुल्सी नाराण श्रेष्ठ, राजेन्द्र ढकाल र भोलानाथ ढकालले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी अधिकृत रघुनाथ पौडेल र स्वागत सचिव मधु क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेवापत संस्थाका कर्मचारीहरुलाई प्रमुख अतिथि अधिवक्ता पदम रोका र अध्यक्ष उद्धव भट्टराईले स्वागत गर्नुभएको थियो भने नयाँ सेयर सदस्यहरुलाई स्वागत गरिएको थियो ।