जुमानसिंह केसी, प्युठान ।
राष्ट्रिय जनमोर्चा, प्युठानले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ । शनिबार गौमुखी गाउँपालिकाको ठूलाबेसीमा राजमोले प्रदर्शनसहित विरोध सभा गरेको हो ।
राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिको आयोजनामा सम्पन्न सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य कृष्ण खड्काले राष्ट्रघाती एमसीसी संसदबाट पारित नगरी खारेज गर्न माग गर्नुभयो । साम्राज्यवादी अमेरिका एमसीसीको माध्यमबाट नेपालमा प्रवेश गर्ने र चीन घेर्ने नीति लिएको भन्दै उहाँले देशको राष्ट्रियतामा दीर्घकालिन असर पर्ने सम्झौता जनताका लागि स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
फरक प्रशंगमा उहाँले एमालेका केही नेताले प्युठानमा राजमोको सत्ता समाप्त पार्ने कुरा गर्नु हास्यास्पद भएको वताउनु भयो । एमालेले अफ्नो पार्टी घाँजाघाँजा पारेको, संसद विघटन गरेको र देशलाई प्रतिगमन तर्फ लैजाने काम गरेको बताउँदै उहाँले भन्नुभयो, ‘एमालेले आफ्नो पार्टीको चिन्ता गरोस् हाम्रो चिन्ता हामी गर्छौं ।’

राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले एमसीसी नेपालको लागि घातक हुने भन्दै कुनै हलतमा पास गर्न नहुने बताउनु भयो । उहाँले एमसीसीविरुद्ध सचेत नेपाली जनतालाई खबरदारी गर्न समेत आग्रह गर्नु भयो । कांग्रेस, एमाले एमससिी पास गर्न सहमत भएको भन्दै उहाँले अमेरिकी साम्राज्यवादलाई नेपालमा आफ्नो स्वार्थ पुरा नर्ग नदिन राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसीले राजनीतिलाई कमाइ खाने धन्दाको रुपमा विकास गरिएको भन्दै सही राजनीति र चारलाई साथ दिनु पर्ने बताउनु भयो । उहाँले काङ्ग्रेस, एमाले लगाएतका पार्टीले सोझा जनतालाई विभिन्न झुठो आश्वासन बाँड्नु राजनैतिक बेइमानी भएको भन्दै ठूला पार्टीको नक्कली कुरामा सचेत हुन आग्रह गर्नु भयो ।
सभामा राजमो लुम्बिनी प्रदेश सहसचीव केशव आचार्य, नेकपा (मसाल) प्युठानका वक्ता ज्ञामुराम न्यौपाने, अखिल नेपाल महिला संघ, प्युठानका सचिव कमला पोखरेलले मन्तव्य राख्नु भएको थियो ।
गौमुखी गाउँपालिकाका सबै वार्डबाट कार्यकर्ता हरुको सहभागितामा ठूलाबेसी बजार थियो । सभाको अध्यक्षता राजमो गौमुखी गाउँपालिका समितिका अध्यक्ष जनक केसीलेले गर्नु भएको थियो भने स्वागत भरत केसीले गर्नु भएको थियो ।
