काठमाडौं । नेकपा (एमालें) का अध्यक्ष केपी शर्मा ओलीले गुरुत्वाकर्षणको शक्तिको सिद्धान्त हाम्रा पूर्वजले पत्ता लगाएको दाबी गर्नुभएको छ । तर, त्यसको प्रचार हुन नसक्दा हजारौं वर्षपछि न्युटनलाई त्यसको जस गएको बताउनुभयो ।
संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनु भयो । ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनु भएको छ ।
उहाँले भन्नुभयाे ‘इतिहास के भयो भने ग्यालिलियोले यसो गरे। न्यूटनले ग्रयाभिटेशनको थेउरी पत्ता लगाए। भास्कर आचार्यको कुरै छैन। यी विद्धानहरुको त कुरै छैन। फष्ट फिलोसफर को थिए? भन्दाखेरी शुकराज। शुकराजभन्दा हजारौैं वर्ष अगाडि अष्टवक्रजस्ता फिलोसफरहरुको कुरै छैन। त्यसकारण यो ज्ञानभूमि हो, हाम्रो पूर्वजहरुले एकदम ठिक भनेका छन–यो ज्ञान भूमि हो, पुण्य भूमि हो। देव भूमि हो। ध्यान भूमि हो। तपो भूमि हो। त्यसकारण ज्ञान भूमि हो।’
एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पार्नु भयो । उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचन समेत दिनु भयो ।
अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपो भूमि भनेको सही भएको पनि बताउनु भयो । उहाँले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताउनु भयो ।