काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत विभिन्न ६ विद्यार्थी संगठनबीच चार बुँदे सहमति भएको छ ।
त्रिवि र आन्दोलनरत विद्यार्थी संगठनबीच त्रिविले आन्तरिक प्रतिस्पर्धाबाट करारका उपप्राध्यापक नियुक्त गर्ने निर्णय स्थगित गर्नेलगायतका विषयमा सोमबार सहमति भएको अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोखरेलले जानकारी दिनुभएको छ ।
सहमतिपति त्रिवि सभाले गत मंसिर १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका शिक्षकलाई उपप्राध्यापकमा नियुक्ति गर्ने गरी गरेको निर्णय हाललाई कार्यान्वयन नगर्ने भएको छ ।
आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सहमति भए पछि आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले त्रिविमा लगाएको ताला आज (सोमबार) खुलाएका छन् ।
आन्दोलनरत ६ विद्यार्थी संगठन र त्रिविका प्रतिनिधिबीच भएको ४ बुँदे सहमतिपछि १ महिनादेखि तालाबन्दी रहेको त्रिविका तीन वटै कार्यालय खोलिएको पोखरेलले बताउनुभयो ।
यस्तै, विद्यार्थी संगठन र त्रिविबीच रिक्त दरबन्दीहरु प्रत्येक ६ महिनामा खुला विज्ञापन गरी समावेशी सिद्धान्तका आधारमा गर्ने सहमति भएको छ। साथै, त्रिविले ०७८ साउन १८ गते स्थगित गरेको उपप्राध्यापकको विज्ञापनको कार्यतालिका तत्काल प्रकाशित गरी कार्यन्वयन प्रक्रिया अगाडि बढाउन त्रिवि सेवा आयोगसँग अनुरोध गर्ने सहमति समेत भएको छ ।
आन्दोलनरत विद्यार्थी संगठन र त्रिविबीच स्ववियू निर्वाचन प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। दुवै पक्षद्वारा हस्ताक्षरित सहमति पत्रमा त्रिविको अभिलेखमा दर्ता कायम भएका विद्यार्थी संगठनहरुको केन्द्रीय नेतृत्वसँग आवश्यक छलफल गरी स्वीयू निर्वाचनको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
त्रिविबाट प्राध्यापक पशुपति अधिकारी संयोजकत्वमा रहेको पाँच सदस्यीय वार्ता टोलीसँग अखिल (छैठौं)का पुरन पोखरेल, नेपाल विद्यार्थी संघका विष्णु बहादुर बडैला, अखिल (क्रान्तिकारी)का प्रदीप भट्ट, अनेरास्ववियुकी शोभा बम, समाजवादी विद्यार्थी यूनियनका तर्फबाट राम नरेश यादव र वैद्य निकट अखिल (क्रान्तिकारी)का अनिल केसीले हस्ताक्षर गर्नुभएको छ ।