काठमाडौं । अखिल (छैठौं) ले ओखलढुंगामा एक छात्रालाई समयमै विद्यालय नआएको आरोपमा विद्यालय प्रवेश गर्न नदिइएको र सोही कारण उनले आत्महत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै, पोखराको एक छात्राबासमा बालकले राति ओछ्यानमा पिसाव गरेको भन्दै बालकको लिंग बाँधिदिएको घटनाप्रति पनि अखिल (छैठौं) ले आपत्ति जनाएको छ ।
अध्यक्ष देवेन्द्र कुँवरले प्रेशित गर्नुभएको विज्ञप्तिमा घटनाका दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरिएको छ ।
यस्तो छ, विज्ञप्ति
ओखलढुङ्गा जिल्ला, चम्पादेवी गाउँपालिका, वडा नं. ३, चित्रेस्थित श्री बालज्योति मा.वि., कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बिमला बोगटी, यही पुस ५ गते विद्यालय प्रार्थनाको समयमा आइनपुगेको आरोपमा विद्यालय प्रवेश गर्न नदिई विद्यालय प्रशासनले दुर्व्यवहार गरेकोले छात्रा विमलाले घर फर्केर विष सेवन गरेको कारण उपचारको क्रममा पुस ६ गते निधन भएको समाचार र केही दिनपहिले पोखरा महानगरपालिका, वडा न.१५ मा रहेको न्यू लाईफ होस्टलकी वार्डेन जानुका नेपालीले सोही होस्टलमा बसी फलेपाटनमा रहेको सिद्ध माविमा कक्षा नर्सरीमा अध्ययनरत वालक रेमन बुढाले ओछ्यानमा पिसाब फेरेको आरोपमा राती सुत्ने वेला पिसाब फेर्ने ठाउँ (लिङ्ग) बाँधिदिएर यातना दिएको भन्ने समाचारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो संगठन यी दुबै घटनाको तत्काल छानविन गरी दोषीलाई कडा कार्वाही गर्न र पिडितलाई न्याय दिलाउनको लागि जोडदार माग गर्दछौं ।
विद्यालयभित्र घटेका यस प्रकारका गम्भीर र बालमनोविज्ञान विरोधी घटनाहरुको भ्रत्सना गर्दै विद्यालयमा वालमैत्री वातावरणको निर्माण गरी पठनपाठन गर्ने व्यवस्था मिलाउन हामीले सम्बन्धित सम्पुर्ण पक्षहरुसँग हार्दिक अनुरोध गर्दछौं ।