काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले कारबाही फिर्ताको माग गरेका हुन् ।
क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामा (राखेप प्रतिनिधि) ले खेलाडीमाथि नियोजित रुपमा कारबाही गरेको आरोप लगाएका छन् ।
खेलाडीमाथि कारबाही गरिएको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उनीहरुले ‘नेपाल क्रिकेट संघ विधि र पद्दति अनुसार चलोस, आर्थिक कारोबार लगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजना अनुसार सञ्चालन होस्’ भनेका छन् ।
गत बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेटका चार जना खेलाडीलाई कारबाही गरेको थियो ।
राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै अनुशासन उल्लंघन गरेको पाइएका सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको थियो ।