काठमाडौं । भारतसँग पराजित हुँदै नेपाल साफ यू १९ वुमन्स च्याम्पियनसिपको फाइनल पुग्नबाट बञ्चित भएको छ ।
बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शाहिद सिफाही मुस्तफा कमल स्टेडियममा आइतबार भएको लिग चरणको अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपालको फाइनल खेल्ने सपना अधुरो रह्यो ।
आजको खेलमा बराबरीको नतिजाले मात्रै पनि नेपाललाई फाइनल पुग्ने मौका थियो। पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपाली टोली दोस्रो हाफमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। भारतका लागि खेलको ६१ औँ मिनेटमा प्रियंका देवी नाउरिमले गरको गोल नै खेलको निर्णायक बन्यो।
नेपाललाई पराजित गरेको भारत भने फाइनलमा पुगेको छ। नेपालको हारले घरेलु टोली बगंलादेशभने एक खेल अगावै भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ। बगंलादेशले लिग चरणको अन्तिम खेलमा आजै साँझ श्रीलंकासँग खेल्दैछ।
लिग चरणको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो। नेपाली दोस्रो खेलमा श्रीलंकालाई ६–० ले तथा भुटानलाई ४–० गोल अन्तरले पाखा लगाएको थियो।
च्याम्पियनसिपको फाइनल खेल ७ गते हुनेछ।