फिदिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ)ले संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी थालेको छ । २०७६ फागुन–चैतमा गर्न लागिएको काठमाडौं मार्चको तयारीको लागि युनियनका अध्यक्ष विमल पोखरेलले देश दौडाहा सुरु गर्नुभएको छ ।
त्यसै क्रममा आइतबार (मंसिर ८ गते्र) ताप्लेजुङ र पाँचथरको संयुक्त भेला पाँचथरमा सम्पन्न भएको छ । भेलामा अध्यक्ष पोखरेलले संघीयता विरुद्ध जिल्लाभर अभियान गर्न निर्देशन दिनुभएको छ ।
कार्यक्रममा पोखरेलले विद्यार्थीलाई राजनीतिमा ल्याउनु भनेको देशको लागि भएको बताउँदै विखण्डन, भ्रष्टाचार, जातीयताको जरोकिलो उखेल्नुपर्ने धारणा राख्नुभएको थियो । राष्ट्रिय परिषद सदस्य तथा १ नम्बर प्रदेश उपाध्यक्ष हर्क लावतीले पनि तयारी भेलालाई सम्बोधन गर्नुभएको थियो ।
युनियनकी ताप्लेजुङ जिल्ला सदस्य विनिता लिम्बुले सञ्चालन गरेको भेलाको अध्यक्षता पाँचथर अध्यक्ष मिलन लिम्बुले गर्नुभएको थियो । भेलाले दुवै जिल्लाको छुट्टाछुट्टै तयारी र प्रचार समिति गठन गरेको छ । मंसिर ९ गते झापा, मोरङ, सुनसरीको संयुक्त भेला इटहरीमा हुने अखिल(छैठौं) ले जनाएको छ ।