गणेश अधिकारी, पोखरा ।
कास्कीमा क्रियाशील राजनीतिक दलहरूले पोखराको पृथ्वीचोकमा एमसिसीको विरुद्धमा कार्यक्रम सम्पन्न गरेका छन् । आठ दलको निर्णयानुसार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवात सभागृहबाट भएको थियो । सो स्थानबाट विरोध र्याली नाराबाजीसहित पृथ्वी चोकमा पुगेपछि जुलुस सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सचिव केसबहादुर परियार र नेकपाका जिल्ला सेक्रेटरी गोकुल पराजुली हुनुहुन्थ्यो ।
सभामा मन्तव्य राख्ने वक्ताहरूले एमसिसी नेपाली राष्ट्रियता, सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तको विरुद्धमा भएकाले त्यसको विरोध गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा गण्डकी प्रदेश सदस्य मनिष भट्टराईले गर्नुभएको थियो ।
