काठमाडौं । आन्दोलनरत अखिल (छैठौं) सहित विभिन्न सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षकलाई स्थायी गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी सो निर्णय कार्यान्वयन हुन नदिने चेतावनीसमेत दिएका छन् ।
विज्ञप्तिमा विद्यार्थी संगठनहरुले सो विषयमा प्रदर्शन गर्ने क्रममा प्रहरीले गरेको हस्तक्षेप र गिरफ्तारीप्रति खेद व्यक्त गरिएको छ । साथै भोलि २४ गते किर्तिपुर क्याम्पसमा प्रदर्शन गर्ने पनि ती संगठनहरुले जनाएका छन् ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका कार्यवाहक अध्यक्ष वसिम आलम, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त विज्ञप्ति प्रकाशित गरी करारका शिक्षकलाई स्थायी गर्ने त्रिविको निर्णय कार्यान्वयन गर्न नदिने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा बढ्दो महंगी नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ । यस्तै, विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क बाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाही गर्न माग गरेका छन् ।
यसैगरी विद्यार्थी संगठनहरुले पूर्वाञ्चल विश्वविद्यालयले करिब डेढ वर्षअघि लिएको परीक्षाको परीक्षाफल तत्काल सार्वजनिक गर्नसमेत माग गरेका छन् भो रोकिएको पीसीएल नर्सिङमा भर्ना खोल्न पनि माग गरेका छन् ।


