काठमाडौं । भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन त्यहाँको एउटा अदालतले आदेश दिएको छ । ६१ वर्षे तिम्सिनालाई छ साताभित्रमा ५ लाख (नेपाली ८ लाख) रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको हो ।
पश्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसादलाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो । जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाइ नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो ।
कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक फर्किएका थिए। उनले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहेका छन् ।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको थियो ।
२०३७ साल माघमा २० वर्षे उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए। त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) मा थियो तर पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको हो ।