बागलुङ बजार । राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थापमा वडा प्रशिक्षण भेला २०७८ मङ्सिर २१ गते सम्पन्न भएको छ ।
प्रशिक्षण भेलामा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले देशको समसामयिक राजनैतिक परिस्थितिबारे चर्चा गर्दै आगामी संसद् अधिवेशनमा राष्ट्र हित विपरीतको एमसिसी परियोजना पारित गराउन वैदेशिक शक्तिकेन्द्रको चलखेल बढेको बताउदै एमसिसी परियोजना पारित हुन नदिन आन्दोलित हुन सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो । त्यस्तै, राजमो केन्द्रीय सदस्य दिलबहादुर दर्जी, राजमो जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिलबहादुर श्रीस, अखिल नेपाल युवक सङ्घ बागलुङका सचिव भागिन्द्रकुमार थापा, अखिल नेपाल जनजाति सम्मेलन जिल्ला सदस्य होमबहादुर पुन, अखिल नेपाल महिला सङ्घ बागलुङका सदस्य विष्णुकली दर्जी, अखिल नेपाल शिक्षक सङ्घका खगराज शर्मा, अखिल नेपाल महिला सङ्घकी टीका थापा, युवक सङ्घका वीरबहादुर थापालगायतको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम शान्तकला शर्माको अध्यक्षता, राम पौडेलको सञ्चालन र झपिन्द्र थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
मङ्सिर २१ गते नै बागलुङ नगरपालिका वडा नं. ११ रायडाडामा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राजमो राष्ट्रिय परिषद् सदस्य तिलक थापा र जिल्ला सचिव भीमलाल पोखरेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम राजमो वडासमितिका अध्यक्ष खेम थापाको अध्यक्षता र प्रेम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चा बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनीमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो जिल्ला सदस्य बोमबहादुर थापा, अखिल नेपाल युवक सङ्घ बागलुङका कोषाध्यक्ष अनिल गिरी, राजमो जलजलाका अध्यक्ष विमल श्रीसले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडासमितिका अध्यक्ष लोकबहादुर पाइजाको अध्यक्षता र दलप्रसाद श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।