तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले अखिल नेपाल महिला संघकी केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
कपिलवस्तुको चार नं. मा भएको सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी हुनुहुन्थ्यो । उहाँले सो अवसरमा समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवम् प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । सो अवसरमा सम्बोधन गर्दै पौडेलले चन्द्रबदन श्रेष्ठले पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको बताउनुभयो । श्रेष्ठको मृत्युले पार्टी र महिला मुक्ति आन्दोलनलाई नै क्षति पुगेको उहाँको धारणा थियो ।

त्यस्तै, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुनले शोक मन्तव्य राख्दै सङ्गठनात्मक सक्रियताका साथै लेखरचनामार्फत पनि चन्द्रबदन श्रेष्ठले योगदान पुर्याउनुभएको स्मरण गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, ओमन नेपाली एकता समाजमा केन्द्रीय सदस्य शालिग्राम शर्मा, राजमो प्रदेश समितिका सदस्य तिलक जिसी, राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरे, महिला संघ दाङकी जिल्लाध्यक्ष पूर्णिमा आचार्य र महिला संघ कपिलवस्तुका अध्यक्ष कमला पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।कार्यक्रमको अध्यक्षता अन्जना श्रेष्ठले र सञ्चालन सम्झना सुवेदीले गर्नुभएको थियो ।