काठमाडौं । नेकपा (एमाले) को दशौँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका भीमबहादुर रावल २२३ मत ल्याउँदा ओलीले १८०८ मत ल्याउनुभएको हो । ओलीले ८९ प्रतिशत मत ल्याउँदा रावलको पक्षमा १० प्रतिशत मात्रै खसेको छ ।
त्यस्तै उपाध्यक्षमा उठेका नेता घनश्याम भुसाल पनि पराजित हुनुभएको छ । सहमतिबाट नेतृत्व चुन्ने ओलीको प्रयासलाई चुनौती दिँदै उपाध्यक्षका लागि मैदानमा उत्रिएका भुसाल पनि पराजित हुनुभयो ।
भुसालले प्रतिस्पर्धा गरेको उपाध्यक्षमा पदमा ओलीको सूचीभित्रका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापा विजयी भएका छन्।
तत्कालीन नेकपामा विवाद भएपछि पुष्पकमल दाहाल समूहलाई छाडेर केपी शर्मा ओली नेतृत्वको समूहमा आएका माओवादी पृष्ठ भूमिका नेताहरुलाई एमाले कार्यकर्ताले स्वीकारेका छन्। २०७७ फागुन २३ गते नेकपा खारेजीमा परेपछि २०७५ जेठ २ अघिको अवस्थामा दुवै दल ब्यूँतिएका थिए।
नेकपा माओवादीलाई छाडेर फागुन २३ पछि आएका चारै नेतालाई एमालेको चितवनमा जारी दसौँ महाधिवेशनबाट एमाले कार्यकर्ताले स्वीकारेका हुन् । ओलीको सूचीमा परेर उपाध्यक्षमा उठेका ६ जना नै विजयी भएका छन् ।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत ल्याएर विजयी भएका हुन् । ओलीको सूचीबाहिरका घनश्याम भुसाल ७२५ मत ल्याएर पराजित हुनुभयो ।
त्यस्तै सचिव पदमा पनि माओवादीबाट आएका नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी हुनुभएको छ । सचिव पदमा लेखराज भट्टले १७०४ मत र टोपबहादुर रायमाझीले १७०० मत ल्याउँदै विजयी हुनुभएको छ ।
सातजना सचिवका लागि भएको चुनावमा नौजना प्रतिस्पर्धामा थिए। जस अनुसार ओलीको सूचीबाहिरका भीम आचार्य १३०० र टंक कार्की ५०० मत ल्याउँदै पराजित हुनुभएको छ ।
सचिवमा गोकर्ण विष्टले १९७६ मत र योगेश भट्टराईले १९६४ मत पाउँदै दोहोरिएका छन्।
त्यस्तै यो पटक सचिवमा बढुवा भएकी पद्मा अर्यालले र छविलाल विश्वकर्माले समान १८०० मत ल्याउनुभएको छ भने रघुवीर महासेठले सबैभन्दा कम १५१३ मत ल्याएर विजयी हुनुभएको छ ।