काठमाडौं । भोजपुरको कावा खोलामाथिको मोटरेबल पक्की पुल बनि नसक्दै भाँच्चिएको छ। निर्माणाधिन सो पुलको स्टिल ट्रसको संरचना आइतबार भाँचिएको हो ।
स्विस सरकारको पाँच करोड अनुदान लागतमा निर्माण भइरहेको पुलको संरचना बीचबाटै भाँच्चिएर खोलामा झरेको छ। २०७६ फागुनमा शिलान्यास गरेर निर्माण थालिएको यो पुल एक वर्षमै निर्माण पूरा गर्ने योजना थियो ।
पुलको सिभिल निर्माणका लागि दुई करोड तीन लाख २४ हजार ३७१ मा कार्की बन्धु कन्स्ट्रक्सन कम्पनी विराटनगरले ठेक्का लिएको थियो।
केवल सपोर्टेड ट्रस, ओपन फाउन्डेसनको १ स्पानमा बनिरहेको पुलको दुवैतिर पक्की पिलर निर्माण गरिएपछि ट्रस जडान गरिएको थियो।
भोजपुर–मानेभन्ज्याङ–रानीबास–घोडेटार सडकखण्ड अन्तर्गत पर्ने यो पुल ४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ र एक दशमलब २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी निर्माण भइरहेको थियो ।
करिब ८० वर्ष टिक्ने दाबीसहित बनाउन थालिएको यो पुल भूकम्प प्रतिरोधी हुने बताइएको थियो । तर हावाहुरी नचली, कुनै भूकम्पले पनि धक्का नदिई यो पुल भाँच्चिएको छ ।





