काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्ने बताउनु भएको छ ।
शुक्रवार नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिनुहुँदै प्रधानमन्त्री देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत् हरेक समस्याको समाधान निकाल्न सकिने बताउनु भएको हो ।
उहाँले नेकपा एमालेले सरकारका विविध विधान अनुसार थिती बसाल्ने काममा साथ दिनुपर्ने पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने पनि बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘हामी दलहरुबीच सद्भाव, छलफल र संविधानसंवाद मार्फत् हरेक समस्याको समाधान निकाल्न चाहन्छु । नेकपा एमालेका अध्यक्ष ओलीजी लगायत जेलमा पनि हामी उहाँका साथीहरु लगायत, बामपन्थी साथीहरु लगायत म पनि हामी सबै जेलका साथीहरु हौँ । जेलमा हामी जेलमेट पनि हौँ । यी सबै कुराहरु हामीले सबै भोगेका पनि हौँ ।
हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिती नआओस् भनेर सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई । मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिवद्ध छ । नेकपा एमालेले सरकारका विविध विधानअनुसार स्थिती बसाल्ने काममा साथ दिनुपर्छ ।’
प्रधानमन्त्री देउवाले कोभिड १९ ले आक्रान्त भएको बेला सबै जनतालाई कोरोनाबिरुद्धको खोप पुर्याउनु आफ्नो पहिलो लक्ष्य भएको र त्यसैअनुसार लक्ष्य हासिल गरिरहेको बताउनु भयो । उहाँले सबैको सहयोगबाट संसद भित्र प्रतिनिधित्व गर्ने र संसद बाहिरका राजनीतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिवद्ध रहेको समेत बताउनु भयो ।