चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको मागसहित महंगी र भ्रष्टाचारविरुद्ध चितवनमा नेकपा (मसाल) सहित विभिन्न राजनीतिक दलहरुले विरोध सभा गरेका छन् ।
नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त विरोध सभा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरीले एमसीसी अझै पनि जनताको गलपासो बनेको उल्लेख गर्दै त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय चरम महंगी बढिरहेको तर्फ सरकारले वेवास्ता गरेको आरोप पनि लगाउनुभयो।
नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेघराज ढकालको सञ्चालनमा अघि बढेको कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रोटरी अशोक शर्मा र नेकपा (माले) का केन्द्रीय सदस्य भगवती घिमिरेले पनि सम्बोधन गर्नुभएको थियो ।