प्युठान । प्युठानको स्वर्गद्वारी क्याम्पसले क्याम्पसमा भएको तोडफोडको क्षतिपुर्ति भर्न माग गरेको छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो (मंगलबार) भएको प्युठानको मतदानपछि मतगणनाका क्रममा सो क्याम्पसमा झडप र तोडफोड भएको थियो ।
तोडफोडबाट क्याम्पसमा ठूलो क्षति भएको भन्दै क्षतिपुर्ति भर्न क्याम्पसले माग गरेको हो । बुधबार विज्ञप्ति प्रकाशित गरी क्याम्पस प्रशासनले घटना निन्दनीय भएको भन्दै खेद व्यक्त गरेको छ ।
‘यस घटनाबाट हुन गएको क्षतिपुर्तिका लागि सम्वद्ध पक्षलाई ध्यानाकर्षण गराउँदछौँ’ क्याम्पस प्रमुख गुञ्जबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मतगणनामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानल जित नजिकै पुगेको बेला झडप भएको थियो । झडपका क्रममा सात कार्यकर्ता घाइते भएका थिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।


