काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएकाले अब नेपाल–भारत सहज रुपमा आवतजावत गर्न पाउने भएका छन् ।
मंगलबार कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै आवतजात सहज पारिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र मन्त्रालयका सचिव डा. रोशन पोखरेलबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुको यात्रा सहज बनाउन यो समझदारी पत्र भएको हो। यसलाई दुवै देशले महत्वपूर्ण कदम बताउँदै भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित बताएका छन्।