काठमाडौं । सरकारले सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।
नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचना अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा बुधबारबाट दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको हो ।
अन्य प्रदेशमा आवेदन दिएको केही दिनमै इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिने अवस्था रहे पनि सुदूरपश्चिम प्रदेशको हकमा भने केही समय लाग्ने बताइएको छ । प्रदेशको स्थायी नाम कायम नभएका कारण प्रदेश नं १ र प्रदेश नं २ मा भने पुरानै व्यवस्था जारी रहने बताइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार चरणबद्ध रूपमा अबका केही वर्षभित्र मुलुकका सबै सवारीसाधनमा प्रविधिमा आधारित नयाँ नम्बर प्लेट जडान गरिसक्ने लक्ष लिइएको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार फागुन १ गतेबाट सवारी नामसारी गर्दा र जेठ १ गतेबाट सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ। तर कुनै सवारी धनीले दस्तुर बुझाएर आवश्यक प्रक्रिया पूरा गरे सरकारले तोकेको मिति अगावै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
इम्बोस्ड नम्बर प्लेटमा विशेष खालको विद्युतीय चिप राखिएको हुन्छ, जसमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ। सरकारले उपलब्ध गराउने नम्बर प्लेट (मशीन इम्बोस्ड) हुने हुँदा अङ्क र अक्षर मशीनबाट छापिएको हुन्छ। अर्थात् विगतमा जस्तो हातले नम्बर प्लेट कोरिएको हुँदैन।
विभागका अनुसार एक पटक सवारीसाधनमा नम्बर प्लेट जडान गरिएपछि त्यो निकाल्न मिल्दैन। यसको सबैभन्दा ठूलो फाइदा भनेको गाडी चोरी हुने सम्भावना घट्छ र गलत नम्बर प्लेट प्रयोग गर्न मिल्दैन ।
दुईपाङ्ग्रे सवारीमा जडान गरिएको इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी स्टिकर टाँसिएको हुन्छ। चारपाङ्ग्रे सवारीमा भने त्यो स्टिकर अगाडिको सिसामा टाँसिएको हुन्छ। त्यो प्रवेशद्वारमा इम्बोस्ड नम्बर प्लेट जडान भएका गाडी प्रवेश गरे त्यसको सूचना केन्द्रीय सर्भरमा आफैँ जान्छ।
त्यस्तै हाल जडान गरिएका नम्बर प्लेटहरू रातको समयमा देख्न नसकिने समस्या रहेकामा इम्बोस्ड नम्बर प्लेट भने झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देखिने बताइएको छ ।
यातायात विभागका अनुसार सुरुमा आरएफआईडी प्रवेशद्वार काठमाडौं छिर्न र निस्किन प्रयोग हुने मुख्य नाका थानकोटमा जडान गर्नेगरी तयारी अघि बढाइएको छ।
सरकारले हाल वितरण गरिराखेको इम्बोस्ड नम्बर प्लेट चार वटा प्रकारमा वर्गीकरण गरेको छ। सार्वजनिक यातायातमा पहेँलो प्लेटमा कालो अक्षर हुन्छ भने निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर लेखिएको हुन्छ।
त्यस्तै सरकारी र संस्थानका गाडीमा सेतो प्लेटमा रातो अक्षरले लेखिएको हुन्छ भने कूटनीतिक निकायहरूले प्रयोग गर्ने सवारीमा नीलो प्लेटमा सेतो अक्षर हुन्छ।
सरकारले फरक व्यवस्था गरेको अवस्थामा बाहेक मन्त्री, प्रधानमन्त्रीले प्रयोग गर्ने सवारीहरू समेत यी चार प्रकारका इम्बोस्ड नम्बर प्लेटमै पर्ने बताइएको छ।
सरकारले दुईपाङ्ग्रे सवारीका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २,६०० रुपैयाँ तोकेको छ। ट्रकजस्ता ठूला सवारीसाधनमा सबैभन्दा बढी ३,६०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
यो नम्बर प्लेट विगतमा जस्तो आफैँ जडान गर्न नसकिने बताइएको छ।विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारी धनी आफैँले जडान गराउनुपर्ने हुन्छ। एक पटक जडान गरिएको इम्बोस्ड नम्बर प्लेट काम नलाग्ने नभएसम्म प्रयोग गर्न सकिने विभागले जनाएको छ।