काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै काठमाडौं उपत्यकाभरिक कानुन व्यवसायी सर्वोच्च अदालतमा भेला भएका छन् । जबराविरुद्ध प्रदर्शन गर्न आज (सोमबार) उपत्यकाभरिका अदालतस्थित नेपाल बार एसोसिएसनका सदस्यहरु सर्वोच्चमा भेला भएका हुन्।
उनीहरु सर्वोच्च अदालतभित्र प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । त्यसक्रममा प्रहरीले सामान्य लाठीचार्ज गरेको छ ।
कानून व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्नबाट प्रहरीले रोकेको छ । कानून व्यवसायीलाई मूल गेटसम्म प्रवेश नदिने सुरक्षा रणनीति बनाइएको छ ।
यसअघि नेपाल बार एसोसियनको केन्द्रीय समितिले मात्र सर्वोच्च अदालतमा धर्ना दिँदै आएकोमा आज उपत्यकाभित्र रहेका तीनवटै जिल्ला अदालत, विशेष अदालतस्थित बार एकाइ पनि एकसाथ विरोधमा उत्रिएका हुन् ।