काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलन घोषणा गरेका विभिन्न ६ विद्यार्थी संगठनले मूल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन चर्काउँदै लैजाने बताएका छन् । घोषित कार्यक्रम अनुसार आज (आइतबार) विद्यार्थी संगठनहरुले प्रदर्शनी मार्गमा खाली सिलिण्डर प्रदर्शन गर्दैछन् ।
अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गर्नुभयो । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन चर्काउँदै लैजाने पनि उहाँले चेतावनी दिनुभयो । युगदर्शनसँगको सम्पर्कमा उहाँले सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाएर घाटाको व्यापार भन्दै जनता ठग्ने काम गरेको आरोप पनि लगाउनुभयो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध अखिल (छैठौं) सहित विभिन्न ६ विद्यार्थी संगठनले बिहीबार आन्दोलनको घोषणा गरेका हुन् ।
घोषित कार्यक्रम अनुसार विद्यार्थी संगठनहरुले कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाएका थिए भने २६ गते विहान ९ देखि ११ बजेसम्म आयल निगम घेराउ गरेका थिए ।
यस्तै, आज प्रदर्शनी मार्गमा खाली सिलिण्डर प्रदर्शन, ३० गते देशभरीका आयल निगम कार्यालयमा कालो ब्यानर राखी विरोध प्रदर्शन र मंसिर २ गते दिउँसो माइतीघर मण्डलामा सडक बहस कार्यक्रम रहेको अखिल (छैठौं) का अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
नेपाल आयल निगमले गएको बुधबार राति पेट्रोल, डिजल र मट्टितेलमा तीन/तीन रुपैयाँ तथा खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि गरेको थियो। यो सहित निगमले एक महिनामै पेट्रोल, डिजद र मट्टितेलमा ६ रुपैयाँ तथा ग्यासमा १२५ रुपैयाँ मूल्य बढाएको हो ।
त्यस विरुद्ध अखिल (छैठौं) अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी, र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन् ।