काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुको आन्दोलनविरुद्ध अर्को समूहले प्रदर्शन गरेको छ । सो समूह मोटरसाइकल र्यालीसहितको भित्र छिर्न खोजेपछि आइतबार सर्वोच्च अदालत क्षेत्र तनावग्रस्त बनेको छ।
सर्वोच्चमा धर्ना दिइरहेका वकिलहरूको विरोधमा उक्त समूह मोटरसाइकल र्यालीसहित पुगेको थियो । आफूलाई अभियन्ता बताउने सो समूह धर्ना दिइरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै भित्र पस्न खोजेपछि प्रहरीले रोकेको छ ।
उनीहरुले इजलास तत्काल खुलाउनुपर्ने भन्दै कानुन व्यवसायीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा नाराबाजी गरेका हुन्।

अदालतको मूल गेटमा वकिलहरूको धर्ना जारी रहँदा अदालतबाहिर सडकमा मोटरसाइकल र्यालीसहितको समूह भित्र पस्ने प्रयास गरेको हो । प्रधानन्यायाधीश जबरा भने वकिलहरूको धर्ना छल्दै अर्कै गेटबाट सर्वोच्च अदालत छिरेको बताइएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ । बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने भनेको थियो ।
तर, बारको अवरोधको बावजुद पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गर्नुभएको हो । सर्वोच्च अदालतका दुवै ढोकामा ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ ।