रौतहट । तीब्र गतिमा गुडेको भारतीय नम्बर प्लेटको कार पोखरीमा खस्दा चार जना भारतीय युवकको ज्यान गएको छ । गएराति ९ बजेर ५५ मिनेट जाँदा गौर चन्द्रपुर सडक खण्डमा पर्ने यमुनामाई गाउँपालिका– ४ झुनखुन्वाचोक नजिक युके १२ सी २९०० कार सडक छेउको गहिरो पोखरीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार ज्यान गुमाउने चारैजना २५/३० वर्षका युवा छन् । उनीहरुको आईडीकार्ड फेला परेको छ । आफन्तलाई बोलाएर सनाखत गर्ने प्रयास भइरहेको छ ।
प्रहरीले कारको सिसा फुटाएर शव बाहिर निकालेको थियो । शरीरमा चोटपटक लागेको नदेखिएकोले सबैको मृत्यु पानीमा डुबेर भएको प्रहरीको अनुमान छ । डुबेको कारलाई प्रहरीले बाहिर निकालेर जिप्रकामा राखेको छ ।
कारमा चारजना मात्रै सबार रहेको खुलेको छ । अहिले शव पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ।
उनीहरु नेपालबाट भारततर्फ जाँदै गर्दा दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले बताउनुभयो ।