काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरु एक पछि अर्को गर्दै दिल्ली दौडाहमा लागेका छन् । आसन्न महाधिवेशनमा पार्टी सभापति र अन्य प्रमुख पदमा दाबी गर्ने नेताहरु एकपछि अर्को गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।
हालै सभापतिको दाबेदारी प्रस्तुत गरेका कांग्रेस नेता प्रकाशमान सिंह राजनीतिक भेटघाट गर्ने भन्दै सुक्रबार सुटुक्क दिल्ली प्रस्थान गर्नुभएको छ । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गरेका पूर्वमहामन्त्री सिंह नेपाल–भारत रुपैडिया नाकाबाट लखनउ हुँदै नयाँ दिल्ली जानुभएको हो ।
सिंहले नयाँ दिल्लीमा राजनीतिक भेटघाट गर्ने सिंह निकट स्रोतले जनाएको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका सिंह अब सभापति शेरबहादुर देउवा र पौडलबाट पार्टी चल्दैन भन्दै सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको हो । सभापतिमा जित्न र भारतसँग सम्बन्ध सुमधुर बनाउ सिंह दिल्लीतर्फ लागेको निकट स्रोतले जनाएको छ ।
गत महिना कांग्रेस महामन्त्री शशांक कोइराला पनि सुटुक्क दिल्ली गएर फर्किनुभएको थियो । त्यसअघि सभापतिका अर्का दाबेदार तथा उपसभापति विमलेन्द्र निधि पनि दिल्ली जानुभएका थियो ।
यस्तै, पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले दशैँअघि सह महामन्त्री प्रकाश शरण महतलाई दिल्ली पठाएर भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारको प्रयास गर्नुभएको थियो ।
पार्टीको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरु दिल्ली दौडाहामा जान थाल्नुलाई अर्थपूर्ण मानिएको छ । यस्ता भ्रमणलाई दिल्लीको आशिर्वाद बटुल्ने कांग्रेस नेताको प्रयासका रुपमा पनि अर्थ्याइएको छ ।
कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।