काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बुधबार नेपाल आउने भएका छन् । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्नका लागि दबाब दिन डोनाल्ड लु नेपाल आउन लागेको बुझिएको छ ।
नेपालमा एमसीसी विवादित भइरहेको बेला अमेरिकाले उच्च अधिकारीहरु नेपाल पठाएर एमसीसी संसदबाट पारित गर्ने वातावरण बनाउन प्रयास गरिरहेको छ ।
यसअघि एमसीसीकी उपप्रमुख फतिमा सुमार दुई महिना अघि नेपाल आएकी थिइन् । उनले एमसीसी पारित गर्नेबारे शिर्ष नेताहरुसँग छलफल गरेकी थिइन् । यस्तै, अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् ।
नेपाल आउन लागेका सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् ।उनी एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए ।
नेपाल भ्रमणका क्रममा लूले प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुलाई भेट्ने तय भएको छ ।उनले एमसीसीबारे शिर्ष नेतृत्वसँग कुराकानी गर्ने बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको बेलायत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँले स्वेदश फर्किएलगत्तै एमसीसी नेपालको हितमा रहेकाले त्यसलाई पारित गर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।
चीनविरोधी रणनीति अन्तर्गत नेपालमा आफ्नो उपस्थिति बनाउन अमेरिकाले एमसीसी संसदबाट पास गर्न दबाब बढाइरहेको छ । तर, नसंसद भित्र र बाहिरसमेत एमसीसीको विरोधमा ठूलो जनमत रहेकाले सहजै एमसीसी पारित हुने सम्भावना भने छैन ।
पछिल्लो समय अमेरिकाले नेपालमा आफ्नो चासो बढाएको छ । एमसीसीका उपाध्यक्ष सुमार आएर प्राय सबै दलका शीर्ष नेतृत्वलाई भेटेर फर्किएलगत्तै सहायक विदेशमन्त्री नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।