काठमाडौं । रक्तिम साँस्कृतिक अभियानले जनवादी गायिका लक्ष्मी गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
शुक्रबार वक्तव्य प्रकाशित गरी रक्तिमले गायिका गुरुङको निधनबाट नेपाली जनवादी सांस्कृतिक आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ ।
रक्तिमका केन्द्रीय सल्लाहकार गुरुङको बिहीबार भैरहवामा निधन भएको हो ।
महासचिव जीवन शाहीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समिति सल्लाहकार बरिष्ठ जनवादी गायिका लक्ष्मी गुरुङको ६० वर्षको उमेरमा २०७८ कार्तिक २५ गते निधन भएको खबरले हामी दुःखित भएका छौं ।
कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा विसं २०२३ सालमा बुवा कृष्ण गुरुङ र आमा गर्भीबाट जन्मिनुभएकी गुरुङ २०४७ साल देखि निरन्तर रक्तिम सांस्कृतिक अभियानमा आवद्ध हुनुहुन्थ्यो । रक्तिम साँस्कृतिक अभियानको उहाँ कुशल अभिभावक पनि हुनुहुन्थ्यो ।
विगत केही समययता श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङ घरमै अक्सिजन लगाएर उपचार भइरहेका बेला थप समस्या देखिएपछि केही दिनअगाडि उपचारका लागि भारतको गोरखपुर लगिएको थियो । उपचार गरी फर्कंदा पुनः श्वासप्रश्वासको समस्या देखा परेपछि उहाँलाई भैरहवा मेडिकल कलेल अस्पताल पुर्याइएपछी उपचारकाक्रममा अस्पतालले उहाँको निधन भएको घोषणा गरेको थियो ।
रक्तिम साँस्कृतिक अभियानद्वारा प्रकशित थुप्रै गीतमा उहाँको आवाज भरिएको छ । विशेष गरी यो मेरो जीवन, नेपाली माटोमा फुलेको फुल, परदेशीको सपना, उत्तरबाट बादल आँउदा जस्ता दर्जनौ गीतहरू चर्चित छन् । उहाँ आफैमा गीतकार संगीतकार पनि हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली जनवादी साँस्कृतिक आन्दोलनमा ठूलोक्षति पुगेको छ ।
शोकको यस घडीमा दिवंगत लक्ष्मी गुरुङप्रति भावपूणर् श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।’