तानसेन । ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै हब बनाउन जोड दिइएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए ।
देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान बनाइसकेको छ । पाल्पाली ढाका सङ्घले ढाकाको ब्रान्ड बजारमा ल्याउने तयारी गरिरहेको छ । बाहिरबाट ल्याएको ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्रान्डसहितको ढाका बजारमा आउन लागेको सङ्घले जनाएको छ ।
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ढाका कपडाको उत्पादनमा वृद्धि गर्न सके यसबाट धेरैले रोजगार पाउने सम्भावना रहेको बताउनुभयो ।
‘ढाका कपडा खरिद गर्नकै निम्ति बाहिरबाट ग्राहक पाल्पा आउने गरेका छन्’ उहाँले भन्नुभयो– ‘यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।’
“समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश” नारालाई सार्थक बनाउन पनि ढाका कपडाबाट सघाउ पुग्ने उहाँको भनाइ छ ।
सङ्घकी अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाम बेचेर बाहिरबाट भित्रिएका ढाकाको व्यापार गरेकै कारण स्थानीय ग्राहक मारमा परिरहेको बताउनुभयो । उहाँ अब ब्रान्डसहितको ढाका बजारमा आएपछि उपभोक्तालाई न्याय मिल्ने बताउनुहुन्छ ।
तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा निर्यात गरिँदै आएको छ ।
‘ढाका कपडाको व्यापारका नाममा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार आगटेको छ । यसले उपभोक्ता र ढाका व्यापारी मारमा परेका छन्’ महर्जनले भन्नुभयो ।
गुणस्तरीय नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एड (सिप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्रान्डिङ गरेको ढाका कपडा अब चाँडै बजारमा आउने भएको छ ।
भारत र चीनबाट आयात गरिएको ढाका कपडाका कारण पाल्पाली ढाका कपडाको व्यापार चौपट भएको छ ।
‘ब्रान्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा सञ्चालन गर्नुपर्छ’ पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले भन्नुभयो ।
उहाँका अनुसार तीन वर्षे ब्रान्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ । ढाका कपडा बजारमा छिट्टै पठाइँदै छ ।
उहाँ भन्नुहुन्छ– ‘ब्रान्डिङ गरेको सामान तानसेन र काठमाडौँमा आगामी पुससम्म एकैसाथ ल्याउने तयारी छ, । काठमाडौँमा चार तथा पोखरामा एउटा सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने सम्झौता भइसकेको छ ।’
ब्रान्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए नपाएको लगायत मापदण्ड तयार पारेको छ ।
सुरुआती चरणमा तानसेन र काठमाडौँमा एकैसाथ ढाका कपडा बिक्री गर्ने तय भएको छ । विस्तारै सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा ढाका पुर्याउने सङ्घको योजना छ ।
स्विटजरल्यान्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको सङ्घले जनाएको छ । हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ ।
बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले पाल्पाका केही उद्योग बन्द भएका थिए । अहिले ब्रान्डिङमा लैजाने भएपछि उद्योगी पुनः उत्साहित भएका छन् । उद्योग व्यापार फस्टाउने उनीहरूलाई आशा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्ने छ । अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पामा करिब ४० को सङ्ख्यामा ढाका कपडाका व्यापारी छन् । दसैँअघि तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा “पाल्पाली कोसेलीघर” सञ्चालन गरिएको छ । (रासस)