काठमाडौं । अखिल नेपाल कानु व्यवसायी संघ (अन्ला) ले सर्वोच्च अदालतमा जारी आन्दोलन थप सशक्त बनाउन कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनसँग आग्रह गरेको छ ।
अध्यक्ष अधिवक्ता पदम रोकाको नेतृत्वमा बिहीबार बार एसोसिएसनका पदाधिकारीहरुसँग भेट गरी अन्लाले आन्दोलन थप सशक्त बनाउन सुझाव दिएको हो ।
यो आन्दोलन केवल प्रधानन्यायाधीशको राजीनामा मात्र होइन, न्यायालयका समग्र बेथितीविरुद्ध अझ सशक्त बनाउनुपर्ने सुझाव दिइएको अन्लाका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेले युगदर्शनलाई बताउनुभयो ।
‘देशभर रहेका १७/१८ हजार कानुन व्यवसायी आन्दोलित हुनेगरी कार्यक्रम बनाउन सुझाव दिएका छौँ’ महाससचिव पाण्डेले भन्नुभयो, ‘आन्दोलन राजीनामामा सिमित हुनुहुँदैन, समग्र न्यायालयको विकृतीविरुद्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो सुझाव हो ।’
न्यायलयमा मौलाइरहेको विकृती विसंगतीको अन्त्य र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा लगायतका माग राखी बार एसोसिएसनले आन्दोलन सञ्चालन गरिरहेको छ ।
सो आन्दोलनलाई व्यवस्थित रुपले सञ्चालन गरी निष्कर्षमा पुर्याउनको लागि सहयोग पुग्नेगरि अखिल आफूहरुले सुझाव दिएको र बारका पदाधिकारीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको उहाँले जानकारी दिनुभयो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अन्लाका सुझावहरुप्रति बारको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राप्त सुझावले आन्दोलनलाई व्यवस्थित बनाउन थप सहयोग पुग्ने बताउनुभएको थियो ।
डेलिगेसनमा अखिल नेपाल कानून व्यवसायी संघ(अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाको नेतृत्वमा महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डे, सचिव अधिवक्ता चुरामणी भूसाल, कोषाध्यक्ष्य अधिवक्ता राजेन्द्र प्रसाद पुडासैनी र केन्द्रीय परिषद सदस्य अधिवक्ता खोमनाथ न्यौपाने सहभागी हुनुहुन्थ्यो ।
यस्तै, बारका अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारीहरु सहभागी रहनुभएको थियो ।