काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ आज (कात्तिक २५ गते) देखि सुरु भएको छ । राष्ट्रिय तथ्यांक विभागले कूटनीतिक पहल नभएसम्म अतिक्रमित क्षेत्रमा जनगणना गर्न नसकिने र अनुमानका आधारमा गणना गर्ने बताएको थियो ।
राजमो अध्यक्ष केसीले भारतद्वारा अतिक्रमित क्षेत्रमा पनि जनगणना गर्नुपर्ने बताउनुभयो । सो क्षेत्र नेपालको सार्वभौम क्षेत्र भएकोले कालापानीलाई सरकारले बेवास्ता गर्न नहुने उहाँको भनाई छ ।
युगदर्शनसँगको सम्पर्कमा अध्यक्ष केसीले भन्नुभयो, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र हो, त्यहाँका जनतालाई सरकारले वेवास्ता गर्न मिल्दैन । त्यो क्षेत्रमा पनि सरकारले जनगणना गर्नुपर्छ ।’
राजमोले जनगणनामा सरिक हुन आम जनतालाई अपील पनि गरेको छ । बिहीबार जारी अपीलमा भनिएको छ,
‘सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु, आज २०७८ कार्तिक २५ गतेबाट बाह्रौ राष्ट्रिय जनगणना शुरु हुँदैछ । यो गणना यही मंसीर ९ गतेसम्म जारी रहनेछ । जनगणना देशको विकास गर्न र सेवा, सुविधा वितरण गर्नका लागि आवश्यक पर्ने आधारभूत तथ्याङ्क दिने एउटा महत्वपूर्ण माध्यम हो । विकासको सही मार्गचित्र कोर्न, निर्वाचन क्षेत्रको निर्धारण गर्न वा पुर्नसंरचना गर्न, विकासका लक्ष्य मापन गर्न, सामाजिक सेवा– सुरक्षा र सुविधा व्यवस्था गर्न आदि कार्यमा यसको प्रयोग हुन्छ । राज्य, सरकार र नागरिकका लागि यो महत्वपूर्ण हुन्छ । यसमा हामी सबै सहभागी भई तथ्य–सत्य विवरण दिनु हामी सबैको कर्तव्य हो । त्यसैले जनगणनाको क्रममा घर–घरमा आउने गणकलाई सही तथ्याङ्क टिपाएर सबैले सहयोग गरी राष्ट्रिय जनगणना २०७८ सफल पार्न हामीले हार्दिक अपील गर्दछौं ।’
स्मरणीय छ, कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन जनगणना गरिने छ । जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको तथ्यांक विभागले जनाएको छ । जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने बताइएको छ ।
‘कालापानीमा भारतले प्रवेश नदिए अनुमानका अधारमा जनगणना’